महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले ४ वटा सिपमुलक तालिम कार्यक्रम संञ्चालन गरेको छ । नगरपालिकाले विपन्न, दलित, महिला तथा पिछडिएका वर्गको जिवनस्तर उकास्ने उद्देश्यले विभिन्न सिपमुलक कार्यक्रम संञ्चालन गरेको छ ।
नगरपालिकाले अहिले २० जनालाई १८ दिने कपाल काट्ने तालिम, २५ जनालाई १५ दिने हाते झोला बनाउने तालिम, २० जनालाई एक महिने वेटर, २० जनालाई कुक तालिम र महिलाहरुलाई लोकसेवा तयारी कक्षा संचालन गरेको छ ।
भीमदत्त नगरपालिकाले विपन्न, दलित, महिला तथा पिछडिएका व्यक्तिहरुको जिवनस्तर उकास्नका लागि निरन्तर विभिन्न सिपमुलक तालिम संञ्चालन गर्दै आइरहेको कार्यवाहाक नगरप्रमुख नीलम लेखक जोशीले बताइन् ।
‘हामीले निरन्तर यहाँका विपन्न, दलित, महिला तथा पिछडिएका व्यक्तिहरुलाई आत्मनिर्भर बनाउन र उनिहरुको जिवनस्थर उकास्नका लागि विभिन्न सिपमुलक कार्यक्रम संञ्चालन गर्दै आएका छौँ ।’ उनले भनिन् ‘अहिले पनि नगरपालिकाले कपाल काट्ने, हाते झोला बनाउने, वेटर, कुक तालिम र महिलाहरुका लागि निशुल्क लोकसेवा तयारी कक्षा समेत संञ्चालन गरिएको छ ।’
उनले अगाडी भनिन् ‘पछिल्लो समय हाम्रा यहाँका बजारमा कपाल काट्ने, वेटर, कुक लगाएतका कार्यमा भारतिय बढी रहेको अवस्था छ र नेपालीहरु सिप अभावका कारण बेजगार भएर बस्नु परेको अवस्था छ । त्यही कुरालाई नगरपालिको सिपमुलक कार्यक्रम संञ्चालन गरेको हो ।’
यस्तै नगरपालिकालाई प्लाष्टिक निषेधित नगर बनाउने उद्देश्यले स्थानियहरुलाई हाते झोला निर्माण गर्न तालिम दिन थालिएका समेत उनले बताइन् । बुधवार कार्यवाहक नगरप्रमुख जोशीले उक्त तालिम संञ्चालन भएका क्षेत्रको स्थलगत अनुगमन समेत गरेकी छन् । अनुगमनका क्रममा तालिमको पूर्ण लाभ लिएर सिकिसकेपछि व्यवहारमा लागु गर्न समेत कार्यवाहक नगरप्रमुख जोशीले तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई आग्रह गरिन् ।