महेन्द्रनगर । स्वीजरलैण्डका प्रतिनिधिहरुले महाकाली बहुप्राविधीक शिक्षालयको अनुगमन गरेका छन् ।
विहिवार तुलनात्मक शिक्षा पद्धति ज्यूरिच (स्वीजरलैण्ड) स्वीसका प्रमुख डा. उर्सुला रेनोल्ड नेतृत्वको टोलीले भीमदत्त नगरपालिकाद्धारा संञ्चालित बहुप्राविधिक शिक्षालयको अनुगमन गरेको हो ।
स्वीस प्रोजेक्टको गुणस्तरी शिक्षा अन्तर्गत शिक्षालयको शैक्षिक, भौतिक, आर्थिक अवस्था लगाएतको बारेमा अध्ययन गरी गुणस्तरीय शिक्षाका क्षेत्रमा काम गर्न स्वीसको टोलीले अनुगमन एवम् अध्ययन गरेको महाकाली बहुप्राविधिक शिक्षालयका अध्यक्ष एवम् भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले बताए ।
‘यो शिक्षालयको शैक्षिक, आर्थिक अवस्था, भौतिक संरचना लगाएतका विषयमा अध्ययन गरी गुणस्तरीय शिक्षाका क्षेत्रमा काम गर्न तुलनात्मक शिक्षा पद्धति ज्यूरिच (स्वीजरलैण्ड) स्वीसका प्रमुख डा. उर्सुला लगाएतको टोलीले अध्ययन/अनुगमन गरेको हो ।’ उनले भने ‘उहाँहरु अध्ययन गरेर फर्किनु भएको छ । हामी आशावादी छौँ, शिक्षालयलाई स्वीसले सहयोग गर्नेछ ।’
उक्त टोलीले शिक्षालयको ल्याव, कक्षा कोठा लागाएतको अनुगमन, संचालक समिती, शिक्षक, विद्यार्थीहरुसंग विविध विषयमा कुराकानी गरेको छ ।
भीमदत्त नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा संचालित शिक्षालयमा न्यून शुल्कमा सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी,अप्थाल्मिक साइन्स र डिप्लोमा इन फार्मेसी अध्यापन भइरहेको र नर्सिङ र डेन्टल साइन्सको अध्यापन अनुमतीका लागि प्रक्रिया अगाडी बढाइएको महाकाली बहुप्राविधिक शिक्षालयका सदस्य सचीव परमल सिंह साउदले बताए ।
उक्त अनुगमनमा महाकाली बहुप्राविधिक शिक्षालयका उपाध्यक्ष एवम् भीमदत्त नगरपालिकाका उपप्रमुख नीलम लेखक जोशी,भीमदत्त नगरपालिका सामाजिक विकास समिति संयोजक सुशील भट्ट, सिटिइभिटी का निर्देशक लगाएतको उपस्थिति रहेको थियो ।