भीमदत्त नगरपालिकामा दुई सामुदायिक विद्यालयको नयाँ भवन शिलान्यास

महेन्द्रनगर । भीमदत्त नगरपालिकामा दुई सामुदायिक विद्यालयका नयाँ भवनको शिलान्यास गरिएको छ। सोमबार भीमदत्त नगरपालिका–१० सुकासालस्थित श्री महेश्वर माध्यमिक विद्यालय र वडा नम्बर-३ तिलकपुरस्थित श्री नव दुर्गा कालिका आधारभूत विद्यालयमा नयाँ भवन निर्माणको शिलान्यास गरिएको हो ।

श्री महेश्वर माध्यमिक विद्यालयमा चार कोठे भवन र नव दुर्गा कालिका आधारभूत विद्यालयमा तीन कोठे भवनको शिलान्यास नगरप्रमुख पदम बोगटी र उपप्रमुख निलम लेखकले संयुक्त रूपमा गरेका छन् ।

भीमदत्त नगरपालिका र बिल्ड अन नेपालको संयुक्त साझेदारीमा ती विद्यालयमा पक्की भवनका साथै दुई कोठे शौचालय निर्माण गरिनेछ। सुविधासम्पन्न नयाँ संरचना निर्माण हुनेभएपछी विद्यालय परिवार र स्थानीयवासीहरू उत्साहित भएका छन् ।

नगरप्रमुख बोगटीले नगरपालिकाले शिक्षा क्षेत्रलाई अझ बढी प्रभावकारी बनाउन भौतिक संरचना, विद्यार्थीका लागि ज्ञानवर्धक कार्यक्रम, र शिक्षक–शिक्षिकाका लागि क्षमता अभिवृद्धि लगाएतका कार्यक्रमहरूमा विशेष ध्यान दिएको बताए ।

विद्यालयको भौतिक पूर्वाधार, खानेपानी र अन्य आधारभूत सेवा स्तरीकरणलाई पहिलो प्राथमिकतामा राख्दै नगरपालिकाले शिक्षामा बजेट विनियोजन गरेको समेत उनले स्पष्ट पारे ।

उपप्रमुख लेखकले शिक्षा क्षेत्र सबैको साझा दायित्व भएकाले यसमा सबै पक्षबाट सहयोग अपेक्षित रहेको धारणा व्यक्त गरिन ।

ताजा समाचार