नेपालीको जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

प्रकाशित मिति:

प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली नागरिकले महसुस गर्ने गरी दैनिक जीवनस्तर सुधार्न आफ्नो सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। सिंहदरबारमा मंगलबार काठमाडौँ र नयाँदिल्लीस्थित युरोपेली सङ्घ (इयू) का सदस्य राष्ट्र तथा अन्य मुलुकका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा उहाँले यस्तो कुरा बताउनुभएको हो। उहाँले देशको आवश्यकता र आफूहरूमाथि रहेको जिम्मेवारीलाई राम्रोसँग बुझेको उल्लेख गर्नुभयो।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार भेटमा प्रधानमन्त्री शाहले भर्खरै सकिएको चुनावले सुशासन र आर्थिक समृद्धिका लागि स्पष्ट आदेश दिएको बताउनुभयो। सरकार नयाँ बने पनि पुराना नीतिहरूले निरन्तरता पाउने उहाँले प्रस्ट पार्नुभयो। प्रधानमन्त्री शाहले भन्नुभयो, “नयाँ हुनुको अर्थ विगतलाई पूरै बिर्सनु होइन। नेपालको नीति स्पष्ट र स्थिर हुनेछ। हामी लोकतान्त्रिक मूल्यमान्यता र राजनीतिक स्थिरता कायम राख्न प्रतिबद्ध छौँ।”

उहाँले जनताका लागि नयाँ अवसरहरू सिर्जना गर्न सरकारले विश्व बजारबाट फाइदा लिन चाहेको बताउनुभयो। देशमा ठुलो लगानी भित्र्याउन सरकारी प्रक्रियाहरूलाई सजिलो बनाइने, नयाँ सोचलाई प्रोत्साहन गरिने र दिगो विकासमा जोड दिइने उहाँको भनाइ थियो।

प्रधानमन्त्री शाहले नेपालले सन्तुलित र व्यावहारिक विदेश नीतिलाई निरन्तरता दिने स्पष्ट पार्नुभयो। “छिमेकी देशहरू, विकास साझेदार र मित्रराष्ट्रहरूसँगको हाम्रो सम्बन्ध आपसी सम्मान र समानतामा आधारित छ,” उहाँले भन्नुभयो। नेपालको विकासमा सहयोग गर्ने सबै मित्रराष्ट्रहरूलाई धन्यवाद दिँदै उहाँले व्यापार, लगानी, हरित ऊर्जा, जलवायु परिवर्तन र पर्यटन जस्ता क्षेत्रमा सहकार्य अझ बलियो बनाउन नेपाल लागिपरेको बताउनुभयो।

विश्वका विभिन्न ठाउँमा भइरहेका युद्धहरूबारे बोल्दै प्रधानमन्त्री शाहले द्वन्द्वका कारण सधैँ सर्वसाधारण नागरिकले दुःख पाउने गरेको बताउनुभयो। उहाँले शान्ति स्थापनाका लागि लडाइँभन्दा पनि आपसी संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानुनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।

भेटमा उपस्थित राजदूतहरूले नेपालमा शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न भएकोमा प्रशंसा गर्नुभएको थियो। उहाँहरूले नयाँ सरकारको नेतृत्व सम्हाल्नुभएका प्रधानमन्त्री शाहलाई बधाई दिँदै नेपालको आर्थिक विकास र समृद्धिका लागि विभिन्न क्षेत्रमा सहकार्य तथा लगानी गर्न आफूहरू तयार रहेको प्रतिबद्धता जनाउनुभयो।

Advertisement - Godawari Municipalityspot_img

ताजा समाचार