टिङ्कर नाका खुल्ने प्रतीक्षामा दार्चुलाका सौका समुदाय

प्रकाशित मिति:

काठमाडौं । भारत र चीनसँग सीमा जोडिएको दार्चुलाको व्यास गाउँपालिका–१, छाङरु र टिङ्करका स्थानीय बासिन्दा चीनको ताक्लाकोट जानका लागि टिङ्कर नाका खुल्ने प्रतीक्षामा छन् । सदियौँदेखि यस क्षेत्रमा बसोबास गर्दै आएका सौका समुदायका नागरिकहरू व्यापार व्यवसायका लागि चीनको ताक्लाकोट बजार जाने गर्दछन्  । टिङ्कर आधिकारिक नाकाका रूपमा नरहे पनि लामो समयदेखि यहाँका स्थानीयले ताक्लाकोटको स्थानीय सरकारसँगको समन्वयमा आवतजावत र व्यापार गर्दै आएका छन् ।

यस वर्ष पनि नाका सञ्चालनका लागि ताक्लाकोटस्थित चिनियाँ स्थानीय सरकार र परराष्ट्र मन्त्रालयका प्रतिनिधिसँग आग्रह गरिएको छाङरुका स्थानीय व्यापारी योगेश बोहोराले जानकारी दिनुभयो । चिनियाँ पक्षबाट नाका चाँडै खोल्ने आश्वासन पाइएकाले स्थानीय व्यापारीहरू ताक्लाकोट जाने तयारीमा छन् । ताक्लाकोटमा नेपाली व्यापारीहरूले ३२ वटा पसल र ४ वटा होटल सञ्चालन गर्दै आएका छन्, जहाँ उनीहरू केही महिना लुगाकपडा र खाद्य सामग्रीको व्यापार गरेर वर्षभरीको जीविकोपार्जन जुटाउने गर्छन् ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार यस वर्ष ताक्लाकोट जानका लागि व्यास गाउँपालिकाका २१२ जनाले सीमा प्रवेश अनुमतिपत्र लिएका छन् । तीमध्ये १५२ जनाले पुरानो अनुमतिपत्र नवीकरण गराएका छन् भने ६० जनाले नयाँ अनुमतिपत्र लिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीले जानकारी दिनुभयो । यद्यपि, यस वर्ष नाका कहिलेदेखि खुल्छ भन्नेबारे स्थानीय प्रशासनलाई अहिलेसम्म कुनै आधिकारिक जानकारी प्राप्त नभएको उहाँले प्रष्ट पार्नुभयो । गत वर्ष साउनमा यो नाका दुई दिनका लागि मात्रै खुलेको थियो ।

कोरोना महामारीका कारण लामो समय बन्द रहेको यो नाका आर्थिक वर्ष २०८०/८१ देखि व्यापारीहरूको आवतजावतका लागि मात्रै खुल्दै आएको छ, जहाँ छाङरु र टिङ्करका करिब ७० देखि ८० जना व्यापारीले नेपाली र भारतीय सामानको व्यापार गर्छन् । सीमा क्षेत्रको सुरक्षाका लागि चीनले सापु भन्ने ठाउँमा सुरक्षा चौकी र कच्ची सडक पुर्‍याएको छ भने नेपालतर्फ पनि व्यास गाउँपालिका–१, टिङ्करगाउँको छियालेकमा सशस्त्र प्रहरीको बीओपी र नेपाल प्रहरीको चौकी क्रियाशील रहेको छ ।

Advertisement - Godawari Municipalityspot_img

ताजा समाचार