बैतडी । बैतडीमा जेसिबीको ठक्करबाट एकजनाको ज्यान गएको छ। जिल्लाको पुर्चौडी नगरपालिका वडा नम्बर ५ का ४० वर्षीय दलबहादुर बोहराको उपचारका क्रममा मृत्यु भएको हो।
बिहीबार बिहान पौने ९ बजे पुर्चौडी–५ स्थित सल्लेरी–काटेइ ग्रामीण सडक खन्ने क्रममा जेसिबीको बकेटले लाग्दा बोहरा गम्भीर घाइते भएका थिए। दुर्घटना लगत्तै उनलाई उपचारका लागि डडेलधुरा अस्पताल लगिएकोमा उपचारकै क्रममा बिहान ११:४० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक सुरज सिंहका अनुसार मृत बोहरा सोही सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष समेत हुन्।
प्रहरीले दुर्घटनामा संलग्न जेसिबी चालक बझाङको बित्थडचीर गाउँपालिका वडा नम्बर ५ का २५ वर्षीय ललित बोहरालाई नियन्त्रणमा लिएको छ। घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको प्रहरी निरीक्षक सिंहले जानकारी दिए।



