काठमाडौैं । प्रधानमन्त्री बालेन्द्र शाहले “नेपालले पनि भारतको भूमि मिचेको छ” भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सोमबार प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी सांसदहरूले सरकारसँग त्यसको प्रमाण माग गरेका छन्। राप्रपाका सांसद ज्ञानेन्द्रबहादुर शाहीले राष्ट्रको सार्वभौमिकता र भूगोलजस्तो गम्भीर विषयमा हचुवाका भरमा अभिव्यक्ति दिनु गलत भएको भन्दै सरकारलाई प्रमाण पेस गर्न चुनौती दिनुभयो भने श्रम संस्कृति पार्टीका सांसद आरेन राईले स्पष्ट जवाफ नआएसम्म बैठक चल्न नदिने चेतावनी दिनुभयो। नेकपा (एमाले)का प्रमुख सचेतक ऐनबहादुर महरले स्वयं भारतले समेत दाबी नगरेको विषयमा देशकै प्रधानमन्त्रीले यस्तो बोल्नु राष्ट्रहित विपरीत भएको टिप्पणी गर्दै उक्त भनाइ संसद्को रेकर्डबाट हटाउन माग गर्नुभयो।
नेकपाका सचेतक युवराज दुलालले कार्यकारी प्रमुखबाट कूटनीतिक मर्यादा विपरीत आएको यो बयानले आम नागरिकमा आशङ्का पैदा गरेकाले तत्काल सच्याउनुपर्ने जोड दिनुभयो भने विपक्षी सांसदहरूले बैठक स्थगित गर्न सभामुखसँग आग्रह गरे। यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राणा मगरले भने प्रतिपक्षी सांसदहरूको विरोधको शैली संसद् नियमावली विपरीत रहेको भन्दै सभामुखको ध्यानाकर्षण गराउनुभयो।



