काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अञ्जनीकुमार पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्ने निर्णय गरेको छ। आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
बैठकका निर्णयहरूबारे जानकारी दिँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद्ले विभिन्न क्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण चारवटा निर्णयहरू गरेको बताउनुभयो।
प्रवक्ता पोखरेलका अनुसार बैठकले संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (UNEP) अन्तर्गत ओजन तहलाई हानी पुर्याउने पदार्थहरूको व्यवस्थापन र न्यूनीकरणसम्बन्धी मन्ट्रियल प्रोटोकल कार्यान्वयनका लागि प्राप्त सम्झौतालाई स्वीकृत गर्ने निर्णय गरेको छ।
यसैगरी, वि.सं. २०८२ साल भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा घटेको घटनाको जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदनमाथि अध्ययन गर्न बनेको समितिको म्याद थप गरिएको छ। प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको भूमिकाबारे अध्ययन गरी सिफारिस गर्न गठित सो अध्ययन समितिको कार्यअवधि थप ४५ दिनका लागि विस्तार गर्ने निर्णय बैठकले गरेको हो।
बैठकले भूमि समस्या समाधान समितिमा नयाँ पदाधिकारीहरू समेत नियुक्त गरेको छ। जसअनुसार समितिको अध्यक्ष पदमा कास्कीका बलभद्र बास्तोलालाई नियुक्त गरिएको छ। त्यस्तै, समितिको सदस्यहरूमा काठमाडौँका अमीरप्रसाद न्यौपाने र डा. रोहना श्रेष्ठ तथा लमजुङकी पद्मनीति सोतीलाई नियुक्त गर्ने निर्णय भएको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो।



