पशुपालन प्रवर्द्धनका लागि सुडाका स्थानीय किसानलाई औषधि र घाँसको बिउ वितरण

प्रकाशित मिति:

कञ्चनपुर, भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र महेन्द्रनगर कञ्चनपुरको सहयोग तथा साना किसान कृषि सहकारी संस्था सुडा, कञ्चनपुरको आयोजनामा स्थानीय किसानहरूलाई पशुपंक्षीका लागि औषधि तथा घाँसको बिउ वितरण गरिएको छ।
व्यवसाय उन्मुख किसान तथा पकेट क्षेत्रका गाई–भैँसी पालनलाई दिगो र उत्पादनमुखी बनाउन अन्तर्राष्ट्रिय पशुपंक्षी अनुसन्धान संस्था (ILRI) को आर्थिक तथा प्राविधिक सहयोगमा उक्त सामग्री वितरण गरिएको साना किसान कृषि सहकारी संस्था सुडाका लेखा समिति संयोजक तथा सेवा निवृत्त पशु विकास अधिकृत शंकर दत्त जोशीले जानकारी दिनुभयो।
उहाँका अनुसार कार्यक्रमले पशुपालन व्यवसायमा संलग्न किसानहरूको उत्पादन क्षमता वृद्धि गर्नुका साथै उन्नत घाँस खेती र पशु स्वास्थ्य व्यवस्थापनमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।
त्यस्तै, साना किसान कृषि सहकारी संस्था सुडाका अध्यक्ष खगेश्वर पाण्डेयले यस्तै कार्यक्रम सुडासँगै साना किसान सहकारी शाखा कार्यालय मझगाउँमा समेत सञ्चालन गरिने बताउनुभयो।
कार्यक्रमबाट पशुपालक कृषकहरू थप उत्साहित र प्रोत्साहित भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्राविधिक सहायक रञ्जिता मैनालीले बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले किसानहरूलाई पशु स्वास्थ्य र आहार व्यवस्थापनबारे सचेत बनाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो।
स्थानीय किसानहरूले औषधि तथा घाँसको बिउ वितरण कार्यक्रमले पशुपालन व्यवसायलाई थप व्यवस्थित र लाभमुखी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

ताजा समाचार