काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले समता र सामाजिक न्यायलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याएको दाबी गर्नुभएको छ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले बजेटले आर्थिक वृद्धि र समानताको सन्तुलनलाई मुख्य प्राथमिकता दिएको स्पष्ट पार्नुभयो । विपक्षी दलहरूले संविधानको मर्मविपरीत बजेट आएको भनी गरेको आलोचनाको खण्डन गर्दै उहाँले समन्यायिक समुन्नति र समृद्धिलाई नै बजेटको मुख्य लक्ष्य बनाइएको बताउनुभयो ।
बजेटमा ‘समाजवाद’ शब्द प्रत्यक्ष रूपमा उल्लेख नभए पनि समताको एजेन्डालाई व्यावहारिक रूपमै कार्यान्वयन गर्ने प्रयास गरिएको अर्थमन्त्री डा. वाग्लेको भनाइ थियो । विगतको राजनीति वामपन्थी भाष्यबाट प्रेरित रहेकाले कतिपयमा त्यही दृष्टिकोण बाँकी रहेको उल्लेख गर्दै उहाँले संविधानको खिलाफमा बजेट आएको भन्ने आरोप पूर्णतः गलत रहेको दाबी गर्नुभयो । सरकार समतासहितको आर्थिक वृद्धि र समावेशी समृद्धिको एजेन्डामा स्पष्ट रहेको उहाँले उल्लेख गर्नुभयो ।
अर्थमन्त्री डा. वाग्लेले सरकार पाँचवर्षे प्रतिबद्धता र जनताले अनुमोदन गरेको साझा एजेन्डाप्रति दृढ रहेको स्पष्ट पार्नुभयो । सरकारका नीति, कार्यक्रम, बजेटका सिद्धान्त तथा प्राथमिकता र प्रस्तुत बजेटबिच अभूतपूर्व सङ्गति रहेको उहाँको दाबी छ । १०० वटा शासकीय सुधारका कार्यसूचीसहित ल्याइएको बजेटलाई दलीय आग्रहभन्दा माथि उठेर हेर्न आग्रह गर्दै उहाँले आफ्नो पार्टीको सिद्धान्तसँग हुबहु नमिलेको भन्दै गुनासो गर्ने छुट विपक्षी दलहरूलाई रहेको टिप्पणी गर्नुभयो ।



