सुत्केरीको मृत्यु घटना छानबिन गर्न गृहमन्त्रीको निर्देशन

प्रकाशित मिति:

काठमाडौं । अस्पतालको लापरवाहीका कारण सुत्केरी श्रीमतीको मृत्यु भएको भन्दै न्यायका लागि सडक संघर्षमा रहेका चितवनका सुजन बिकसँग गृहमन्त्री सुधन गुरुङले भेटघाट गरेका छन्। विगत तीन महिनादेखि काठमाडौँको सडकमा धर्ना दिँदै आएका चितवन रत्ननगर नगरपालिकाका बिकलाई गृहमन्त्री गुरुङले शुक्रबार मन्त्रालयमा बोलाएर भेटेका हुन्।

काखमा नवजात शिशु च्यापेर न्यायको याचना गर्दै मन्त्रालय पुगेका बिकले अस्पतालको गम्भीर लापरवाहीका कारण आफ्नी श्रीमतीको अकालमा मृत्यु भएको भन्दै गृहमन्त्रीसमक्ष दुःखसोख पोखेका थिए। सुत्केरी अवस्थामा अस्पतालले उचित हेरचाह र उपचार नगर्दा श्रीमती गुमाउनुपरेको र नवजात शिशुको भविष्य संकटमा परेको भन्दै उनले सरकारसँग न्यायको गुहार मागेका थिए।

पीडित बिक र उनको बच्चाको कारुणिक अवस्था देखेपछि भावुक बनेका गृहमन्त्री गुरुङले घटनाको तत्काल छानबिन गर्न निर्देशन दिएका छन्। “राज्य नागरिकको अभिभावक हो। अस्पतालको लापरवाहीका कारण कसैले ज्यान गुमाउनुपर्ने अवस्था आउनु अत्यन्तै दुःखद् छ,” गृहमन्त्री गुरुङले भने, “यो घटनाको गहिराइमा पुगेर छानबिन गरिनेछ र दोषीलाई कडा कानुनी कारबाही हुनेछ।”

गृहमन्त्री गुरुङले मन्त्रालयका अधिकारीहरूलाई तत्कालै एक उच्चस्तरीय छानबिन समिति गठन गर्न र घटनाको सत्यतथ्य विवरण यथाशीघ्र बाहिर ल्याउन कडा निर्देशन दिएका छन्। छानबिनको प्रतिवेदनका आधारमा दोषी देखिएका जोकोहीलाई पनि कानुनी दायरामा ल्याएर कारबाही गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।

ताजा समाचार