काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलसँग नेपालका लागि स्विटजरल्यान्डका राजदूत ड्यानिएल मेउलीले सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ। सोमबार भएको उक्त भेटमा द्विपक्षीय हित, विकास सहायता परिचालन तथा प्राविधिक र व्यावसायिक शिक्षामा स्विस सरकारले गर्दै आएको सहयोग विस्तारबारे छलफल भयो। भेटका क्रममा मन्त्री पोखरेलले सिटिइभिटी ऐनको मस्यौदा छिट्टै संसद्मा पेस गर्ने तयारी भइरहेको जानकारी दिँदै आगामी दिनमा डिजिटाइजेसन, सातै प्रदेशमा अटिजम विद्यालय स्थापना र समावेशी शिक्षाको क्षेत्रमा पनि सहकार्य गर्न स्विस सरकारसँग आग्रह गर्नुभयो। उहाँले काठमाडौँ महानगरको ‘बुकफ्री फ्राइडे’ जस्ता रोजगारमुखी कार्यक्रमलाई देशभर विस्तार गर्ने योजनासमेत सुनाउनुभयो। जवाफमा राजदूत मेउलीले नेपालको शिक्षा क्षेत्रमा स्विस सहयोग निरन्तर रहने प्रतिबद्धता जनाउँदै हाल सिटिइभिटीमार्फत सञ्चालित तीनवटा प्राविधिक परियोजनालाई एकीकृत गरी थप प्रभावकारी बनाइने जानकारी दिनुभयो।



