भौतिक पूर्वाधार सम्बन्धी जनगुनासो सुन्न सरकारले ल्यायो ‘हेलो पूर्वाधार’ सेवा, नि:शुल्क नम्बर ११२० सञ्चालनमा

प्रकाशित मिति:

देशभरका सडक, पुल, खानेपानी लगायतका भौतिक पूर्वाधार विकाससँग सम्बन्धित जनगुनासोलाई तत्काल सम्बोधन गर्ने उद्देश्यले सरकारले नयाँ पहल सुरु गरेको छ। नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालयले आम नागरिकका समस्या र रचनात्मक सुझावहरू प्रत्यक्ष रूपमा सङ्कलन गर्न ‘हेलो पूर्वाधार’ सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो।

मन्त्रालयका अनुसार नागरिकहरूले आफ्नो क्षेत्रमा निर्माण भइरहेका वा अलपत्र परेका पूर्वाधार योजनाका विषयमा रहेका गुनासाहरू यस संयन्त्र मार्फत सिधै मन्त्रालय समक्ष दर्ता गराउन सक्नेछन्। सार्वजनिक सरोकारका विषयमा आम नागरिक र सरकारबीचको दुरी कम गर्न यो सेवा प्रभावकारी हुने विश्वास मन्त्रालयले लिएको छ।

नागरिकहरूको सहजताका लागि मन्त्रालयले बहुआयामिक सञ्चार माध्यमहरू सञ्चालनमा ल्याएको छ। जसअन्तर्गत सर्वसाधारणले कार्यालय समयभित्र नि:शुल्क टोल-फ्री नम्बर ११२० मा फोन गरेर आफ्ना समस्या टिपाउन सक्नेछन्। त्यस्तै, अन्य गुनासा तथा सुझावहरू सामाजिक सञ्जाल एवं डिजिटल माध्यमबाट २४सै घण्टा पठाउन सकिने व्यवस्था गरिएको छ। आधुनिक प्रविधिको अधिकतम उपयोग गर्दै मन्त्रालयले भाइबर तथा ह्वाट्सएप नम्बर ९८५१४३१०६० र आधिकारिक इमेल hellopurbadhar@gmail.com मार्फत पनि गुनासो लिने प्रबन्ध मिलाएको छ।

“तपाईंको सरकार, तपाईंकै सेवामा” र “तपाईंको गुनासो, हाम्रो चासो” भन्ने मूल नाराका साथ सुरु गरिएको यस सेवा अन्तर्गत प्राप्त हुने गुनासाहरूलाई प्राथमिकताका साथ वर्गीकरण गरी सम्बन्धित निकाय मार्फत सुनुवाइ गरिने मन्त्रालयले जनाएको छ।

ताजा समाचार