सुदूरपश्चिम विश्वविद्यालयको छैटौँ दीक्षान्त समारोह सम्पन्न: २ हजार ४ सय ८९ विद्यार्थी दीक्षित

प्रकाशित मिति:

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयको छैटौँ दीक्षान्त समारोह शुक्रवार कञ्चनपुरमा सम्पन्न भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा आयोजित विशेष समारोहमा विभिन्न सङ्कायका गरी कुल २ हजार ४ सय ८९ विद्यार्थी दीक्षित भएका छन्।

विश्वविद्यालयको नवौँ ग्रेस लिस्टमा समावेश भएका ती विद्यार्थीहरूमध्ये समारोहमा ७ सय ६७ जना विद्यार्थी गाउनसहित प्रत्यक्ष सहभागी थिए। परीक्षा नियन्त्रक अनुराधा रोकायाका अनुसार दीक्षान्त समारोहमा विद्यार्थीसँगै उनीहरूका अभिभावकहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो। समारोहमा डा. तुलसी कुमारीलाई विद्यावारिधिको उपाधि प्रदान गरिएको थियो भने पहिलो पटक चार जना जेहेन्दार विद्यार्थीलाई ‘डिन्स पदक’ वितरण गरियो। यस्तै उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरूलाई चान्सलर, भ्वाइस चान्सलर र स्वर्ण पदकद्वारा विभूषित गरिएको छ। यस पटक कञ्चनपुरमा क्रियाशील चार जना सञ्चारकर्मीहरू सुरज श्रेष्ठ, मदन गिरी, कल्पना साउद र सन्तोषी पाण्डेय समेत दीक्षित भएका छन्।

समारोहलाई सम्बोधन गर्दै शिक्षा मन्त्री पोखरेलले विश्वविद्यालयबाट प्राप्त ज्ञान र सीपलाई देशको विकास र व्यवहारमा प्रयोग गर्न दीक्षित विद्यार्थीहरूलाई आग्रह गरे। उनले विद्यार्थीको सफलतामा अभिभावकको भूमिका महत्त्वपूर्ण रहने चर्चा गर्दै टीकापुर क्याम्पसको स्वामित्वमा रहेको ३ सय बिघा जमिनलाई चाँडै उचित प्रयोगमा ल्याउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।

त्यसै गरी, समारोहका प्रमुख अतिथि एवं वरिष्ठ साहित्यकार प्रा.डा. तुलसी प्रसाद जोशीले दीक्षान्त केवल प्रमाणपत्र लिने अवसर मात्र नभई प्राप्त शिक्षा र दीक्षालाई जीवनको व्यावहारिक पाटोमा उतार्ने परीक्षा पनि भएको धारणा राखे।

ताजा समाचार