धनगढी । लम्कीचुहा प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कमलेशप्रसाद यादवमाथि भएको दुर्व्यवहार, धम्की तथा उपचार सेवामा पुर्याइएको अवरोधप्रति नेपाल चिकित्सक संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघको केन्द्रीय कार्यालय र सुदूरपश्चिम प्रदेश (धनगढी) शाखाले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै लम्की नगरपालिकाकी मेयर सुशीला शाहीको यस्तो कदमबाट सिंगो स्वास्थ्य क्षेत्रकै अपमान भएको उल्लेख गरेका छन्। बिरामीलाई सुरक्षित, गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा दिइरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने दुर्व्यवहार, कुटपिट, धम्की वा मानसिक दबाब जस्ता कार्यहरू कुनै पनि हालतमा स्वीकार्य नहुने संघले प्रस्ट पारेको छ। यस्ता घटनाले स्वास्थ्यकर्मीहरूको मनोबल कमजोर बनाउनुका साथै समग्र स्वास्थ्य सेवा प्रणालीमा नै नकारात्मक असर पार्ने संघको ठहर छ। धनगढी शाखाका अध्यक्ष डाक्टर खगेन्द्रराज भट्ट र सचिव डाक्टर मेराज आलम अन्सारीद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत सम्बन्धित निकाय र सरोकारवालाहरूसँग घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषी जोसुकै भए पनि प्रचलित कानुनअनुसार कडा कारबाही गर्न जोडदार माग गरिएको छ।



