कञ्चनपुर, असार १५ – कञ्चनपुरमा पछिल्लो समय विद्युत आपूर्ति पटक–पटक अवरुद्ध हुन थालेपछि बढ्दो जनगुनासोलाई मध्यनजर गर्दै जिल्ला प्रशासन तथा सुरक्षा निकायका प्रमुखहरूले नेपाल विद्युत प्राधिकरण, महेन्द्रनगर वितरण केन्द्रको अनुगमन गरेका छन् ।
जिल्लाका प्रमुख जिल्ला अधिकारी मदन कोइराला, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक (एसपी) नेत्रमणि गिरी तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ शैलेश्वरी गणका प्रमुखसहितको टोलीले वितरण केन्द्र पुगेर कार्यालयका कर्मचारीसँग विद्युत आपूर्तिमा देखिएको समस्याबारे छलफल गरेको हो । छलफलका क्रममा प्राधिकरणका कर्मचारीहरूले अत्यधिक गर्मीका कारण विद्युतको माग अस्वाभाविक रूपमा बढ्दा ट्रान्सफर्मरमा अतिरिक्त भार परेको, फ्युज पटक–पटक जाने तथा केही स्थानमा ट्रान्सफर्मरको क्षमताले बढेको लोड धान्न नसक्दा विद्युत आपूर्तिमा समस्या देखिएको जानकारी दिएका थिए ।
अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी कोइरालाले उपभोक्ताले समयमै विद्युत मिटर प्राप्त गर्ने व्यवस्था मिलाउन, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन तथा भीमदत्त नगरपालिका–९ स्थित खल्लामसेटी क्षेत्रमा महाकाली करिडोर सडक निर्माणका क्रममा विद्युत सेवा अवरुद्ध नहुने गरी आवश्यक समन्वय र व्यवस्थापन गर्न नेपाल विद्युत प्राधिकरण महेन्द्रनगरलाई निर्देशन दिएका छन् ।
पछिल्ला केही सातायता अत्यधिक गर्मीसँगै कञ्चनपुरमा विद्युत अवरुद्ध हुने समस्या बढ्दै जाँदा सर्वसाधारणले निरन्तर गुनासो गर्दै आएका छन् । प्रशासनले विद्युत आपूर्तिलाई भरपर्दो बनाउन आवश्यक समन्वय र सुधारका कार्यलाई तीव्रता दिन प्राधिकरणलाई आग्रह गरेको छ ।



