कञ्चनपुर र कैलालीबाट खैरो हेरोइनसहित पाँच जना पक्राउ

प्रकाशित मिति:

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका कञ्चनपुर र कैलाली जिल्लाबाट प्रहरीले अवैध लागूऔषध खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ गरेको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ नयाँबस्तीबाट बिहीबार साँझ खैरो हेरोइनजस्तो देखिने ३० ग्राम ९३० मिलिग्राम धुलो पदार्थसहित चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा कृष्णपुर–२ का लालबहादुर सुनार, हेमराज जोशी, वेदकोट नगरपालिका–७ का बिमल पाण्डे र कैलालीको धनगढी उपमहानगरपालिका–५ का अशोक पाण्डे रहेका छन्। लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोस्ट बाणीको संयुक्त टोलीले उनीहरूलाई बीएए १३५१ नम्बरको स्कारपियोसहित नियन्त्रणमा लिएको हो।

यस्तै, कैलालीको लम्कीचुहा नगरपालिका–१ थकालीपुरबाट बिहीबार साँझ १५० मिलिग्राम खैरो हेरोइनसहित २३ वर्षीय ललित राना क्षेत्री पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले चेकजाँचका क्रममा उनको साथबाट उक्त पदार्थ बरामद गरेको हो। दुवै घटनामा पक्राउ परेका व्यक्ति र बरामद गाडीमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा समाचार