अवैध डिम्बदानका लागि सुदूरपश्चिमका युवती तस्करको निसानामा

प्रकाशित मिति:

कंचनपुर । अवैध रूपमा डिम्बदान (एग डोनेसन) का लागि नेपाली युवतीहरू मानव तस्करको निसानामा परेका छन्। सुदूरपश्चिम प्रदेशका विपन्न परिवारका किशोरीहरू नेपाल–भारत अन्तरदेशीय मानव तस्करको निसानामा पर्ने गरेको तथ्य सार्वजनिक भएको हो। दिल्लीतर्फ गइरहेको अवस्थामा गौरीफन्टा नाकाबाट एक युवतीको उद्धार गरिएपछि डिम्बदानका लागि यो नाकाबाट मानव तस्करी हुने गरेको रहस्य बाहिर आएको छ।

नेपाल प्रहरी र नाकामा महिला बेचबिखन नियन्त्रणका लागि क्रियाशील शान्ति पुनस्र्थापना गृहको संयुक्त प्रयासमा ती युवतीको उद्धार गरिएको थियो। मोटो रकमको प्रलोभन देखाएर ती युवतीलाई भारत बोलाइएको शान्ति पुनस्र्थापना गृहका जिल्ला संयोजक कैलाश रानाले बताए। उनका अनुसार भारतीयसँग विवाह गरेर भारतमा बस्दै आएकी अपरिचित नेपाली महिलाले ती युवतीलाई मेसेन्जरमार्फत सम्पर्क गरी दिल्ली बोलाएकी थिइन्।

आर्थिक अवस्था कमजोर रहेकी ती युवतीलाई एक पटक डिम्बदान गरेबापत नेपाली ४८ हजार रुपियाँ दिने प्रलोभन देखाइएको थियो। राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनमा पनि कैलालीको घोडाघोडी नगरपालिकाकी एक महिलाले गाउँकै थारू समुदायका १७ र १८ वर्षका दुई किशोरीलाई डिम्बदानका लागि नयाँ दिल्ली पुर्‍याएको उल्लेख छ।

मानव तस्करीका लागि गौरीफन्टा–पलिया रुट सहज रहेको बताइएको छ। दुधुवा नेसनल पार्क क्षेत्रको करिब ३० किलोमिटरसम्म मोबाइल नेटवर्कले काम नगर्ने भएकाले तस्करहरूले यो रुट प्रयोग गर्ने गरेका हुन्। महिला पुनस्र्थापना केन्द्र (ओरेक) की जिल्ला संयोजक गीता चौधरीले यो नाका सहज भएकाले पूर्वतिरका महिलालाई पनि यहीँबाट भारततर्फ लगिने गरेको बताइन्। शान्ति पुनस्र्थापना गृहले विभिन्न नाकाबाट भारत गइरहेको अवस्थामा एक वर्षको अवधिमा ४२० महिला तथा बालबालिकालाई फर्काएको छ।

ताजा समाचार