कैलाली । कैलाली क्षेत्र नम्बर–४ का प्रतिनिधि सभा सदस्य (सांसद) खेम कोइरालाले वैदेशिक रोजगारीका नाममा ठगीमा परेका नागरिकहरूलाई प्रमाणसहित सम्पर्कमा आउन आग्रह गरेका छन्।
आफ्नो निर्वाचन क्षेत्रभित्र वैदेशिक रोजगारीमा जाने क्रममा विभिन्न एजेन्ट वा संस्थाबाट ठगिएका पीडितहरूलाई आवश्यक कागजातसहित आउन उनले आह्वान गरेका हुन्। सांसद कोइरालाले सामाजिक सञ्जाल फेसबुकमार्फत एक सूचना जारी गर्दै पीडितहरूलाई आफ्नो वाट्सएप नम्बर ९८४८६६३१३१ मा प्रमाणहरू पठाउन अनुरोध गरेका छन्।
विवरण पठाउँदा कुन म्यानपावर, कन्सल्टेन्सी वा एजेन्टमार्फत ठगी भएको हो, कति रकम ठगिएको हो, त्यसको भौचर वा निस्सा, आफ्नो परिचय खुल्ने कागजात र ठगी गर्ने व्यक्तिको विवरण (सम्भव भए फोन नम्बर समेत) खुलाएर पठाउन भनिएको छ।
ठगीका पुराना र जटिल घटनाहरू सुल्झाउन केही समय लाग्न सक्ने भए पनि पीडितहरूलाई न्याय दिलाउन र ठगहरूलाई कानुनी दायरामा ल्याउन आफू दृढताका साथ लाग्ने सांसद कोइरालाले प्रतिबद्धता जनाएका छन्।



