धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सूचना तथा प्रविधिको अधिकतम प्रयोग गरी प्रदेशको स्वास्थ्य सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाइने बताएका छन्।
धनगढीमा शनिबार आयोजित ‘द लास्ट माइल हेल्थ समिट’ को उद्घाटन गर्दै मुख्यमन्त्री शाहले बिरामीको चाप र जनताको आवश्यकतालाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाइने उल्लेख गरे। स्वास्थ्य क्षेत्रको सुधारका लागि प्रदेश सरकार सरोकारवालाहरूसँग संवाद र छलफल गर्न सधैं तयार रहेको उनको भनाइ थियो। “स्रोतसाधनको अभावका कारण केही काम सोचे अनुरूप अगाडि बढ्न नसकेका होलान्, तर सरकार सुधारका लागि सधैं तत्पर छ,” उनले थपे।
मुख्यमन्त्री शाहले गाउँ-गाउँ र घर-घरमा स्वास्थ्य सेवा पुर्याउन प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे। आफ्नो नेतृत्वको सरकारले पहिलो पटक सुदूरपश्चिमका पाँच वटा आधारभूत अस्पताललाई प्रादेशिक अस्पताल बनाउने योजना नीति तथा कार्यक्रममा समेटेको स्मरण गराउँदै उनले भने, “तीमध्ये दुई वटा अस्पताल प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति भइसकेका छन् भने बाँकी तीन वटालाई पनि मापदण्ड पूरा गराई विशेषज्ञ सेवा सुरु गर्ने तयारी भइरहेको छ।”
आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम एवं बजेटमा कैलालीको टीकापुर, सेती र कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताललाई स्तरोन्नति गरी १०० शय्याको बनाउने तथा अन्य जिल्ला अस्पतालहरूलाई २५ देखि ५० शय्यामा स्तरोन्नति गर्ने योजना समेटिएको उनले जानकारी दिए। साथै प्रादेशिक अस्पतालहरूमा डायलासिस सेवा विस्तारको प्रक्रिया समेत अगाडि बढाइएको उनले बताए।
बाजुराका बुढीनन्दा, बडिमालिका, बुढीगङ्गा र त्रिवेणी नगरपालिका तथा स्मार्ट हेल्थ ग्लोबलको संयुक्त आयोजनामा उक्त समिट सञ्चालन भएको हो। समिटमा बाजुराका चार वटा पालिकाका नागरिकलाई लक्षित गरी डिजिटल स्वास्थ्य सेवा प्रवाहका विषयमा सरोकारवालाहरूबीच विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा सहभागीहरूले सुदूरपश्चिममा स्वास्थ्यको समस्या केवल रोगसँग मात्र नभई भौगोलिक दुरी, सडक सञ्जाल, समय र पहुँचको कमीसँग समेत जोडिएको विषय औँल्याएका थिए। कार्यक्रम बडीमालिका नगरपालिका (बाजुरा) का नगरप्रमुख अमर खड्काको सभापतित्वमा सम्पन्न भएको थियो।



