कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनुमति बिना अनधिकृत रूपमा घुम्ती व्यापार व्यवसाय सञ्चालन गर्न नपाइने भएको छ। नगरपालिकाको क्षेत्राधिकार भित्र पूर्व स्वीकृति नलिई ढुवानी तथा सवारी साधनको प्रयोग गरी व्यवसाय गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने भएको हो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टका अनुसार पूर्व स्वीकृति बिना मोटरसाइकल, टाँगा, रिक्सा, मिनी ट्रक लगायतका सवारी साधन मार्फत व्यापार व्यवसाय गरिरहेको गुनासो आएपछि कडाई गरिएको हो। हाल बजार तथा ग्रामीण क्षेत्रमा अनुमति बिना घुम्ती व्यापार गर्नेहरूमा अधिकांश भारतीय नागरिक रहेको पाइएको छ।
यसैगरी, नगरपालिकाले सडक क्षेत्रलाई सुरक्षित र जोखिममुक्त बनाउन विशेष कार्य अगाडि बढाएको छ। स्थानीय सडक, सडक किनारा तथा अन्य सार्वजनिक स्थानहरूमा पशु चौपाया बाँध्ने एवं बालुवा, गिट्टी, ढुङ्गा, काठ, इँटा लगायतका निर्माण सामग्री थुपार्ने कार्यलाई निरुत्साहित गर्न लागिएको छ।
अनुमति बिना सडकमा निर्माण सामग्री थुपार्ने र सडक खनेर क्षति पुर्याउने कार्य गरिएको पाइएमा नगरपालिकाको सडक मापदण्ड कार्यविधि २०७६ बमोजिम कारबाही गरिने प्रमुख प्रशासकीय अधिकृत बिष्टले बताए। सडक अतिक्रमण हटाउन र अनधिकृत व्यापार रोक्न नगर प्रहरी समेत परिचालन गरी निरन्तर अनुगमन भइरहेको नगरपालिकाले जनाएको छ।



