निर्मला प्रकरणबारे आँचल बमको स्पष्टीकरण: ‘रुख काटेर प्रमाण मेटेको आरोप अफवाह मात्र हो’

प्रकाशित मिति:

कंचनपुर । निर्मला पन्त हत्या प्रकरणमा पटक–पटक नाम जोडिँदै आएकी आँचल बमले सामाजिक सञ्जालमार्फत एक लामो टिप्पणी सार्वजनिक गर्दै आफू र आफ्नो परिवार पूर्ण रूपमा निर्दोष रहेको दाबी पुनः दोहोर्‍याएकी छन्। यस विषयमा यो नै आफ्नो अन्तिम प्रतिक्रिया भएको र अब उप्रान्त उक्त घटनाबारे कुनै पनि कुरा नगर्ने उनले स्पष्ट पारेकी छन्।

विवादित बनेको अम्बाको रुख काटिएको प्रकृतिको प्रष्टीकरण दिँदै आँचलले निर्मलाको घटना २०७५ साउन १० गते भएको र रुख भने साउन १६ वा १७ गते मात्र काटिएको उल्लेख गरेकी छन्। घरमा हुने अनावश्यक भीडभाड, सम्भावित चोरी र बालबालिकाको सुरक्षाका कारण रुख काटिएको दाबी गर्दै उनले प्रहरीको दबाबमा प्रमाण नष्ट गर्न रुख काटिएको भन्ने आरोपलाई पूर्ण रूपमा झूटो भनेकी छन्।

त्यस्तै, घरको भित्ता रङ्गाएर प्रमाण मेटाइएको भन्ने चर्चाको पनि उनले खण्डन गरेकी छन्। घटनाको समय र त्यसपछिका १–२ वर्षसम्म घरमा कुनै पेन्ट नगरिएको दाबी गर्दै उनले तत्कालीन पत्रकार (हाल रास्वपा सभापति) रवि लामिछाने आफैँ घरमा आउँदा पनि कुनै रङ नलगाएको प्रत्यक्ष देखेको बताएकी छन्।

कुनै एसपीको छोरा, मेयरको भतिजा वा भीआईपीले आफूहरूलाई संरक्षण गरेको भन्ने आरोपलाई मनगढन्ते भन्दै उनले प्रहरीले सबै कल डिटेल जाँच गरिसकेको र आफूहरू १०० प्रतिशत निर्दोष रहेको उल्लेख गरेकी छन्। आफ्नी दिदीले डान्स बारमा काम नगरेको, निर्मलालाई कपडा किनिदिएको वा होटलमा जन्मदिन मनाएको जस्ता हल्लाहरू असत्य भएको उनको भनाइ छ।

घटनाको समयमा आफू १४ वर्षको नाबालिग रहेको उल्लेख गर्दै आँचलले केही मानव अधिकारकर्मी र सञ्चारमाध्यमबाट आफ्नो चरित्र हत्या गरिएको र हिरासतमा रहँदा समेत अपमानजनक व्यवहार भोग्नुपरेको दुखेसो पोखेकी छन्। आफूहरू कुनै राजनीतिक शक्तिको संरक्षणमा नभई निर्दोष भएकै कारण कानुनले सफाइ दिएको भन्दै उनले सामाजिक सञ्जालमा झूट र अफवाह फैलाउनेहरूमाथि कडा अनुसन्धान र कारबाही गर्न सरकारसँग माग गरेकी छन्।

ताजा समाचार