धनगढी बालक हत्या प्रकरण: लुटिएको मुन्द्री फेला, अभियुक्त पक्राउ

प्रकाशित मिति:

कैलाली । कैलालीको धनगढीमा १० वर्षीय बालक तनुज चौधरीको हत्या गरी लुटिएको सुनको मुन्द्रा प्रहरीले फेला पारेको छ। गत असार १२ गते धनगढी उपमहानगरपालिका–१७ स्थित कालिका सामुदायिक वनमा मृत फेला परेका बालकले कानमा लगाएको सुनको मुन्द्रा प्रहरीले अभियुक्तकै घरबाट भेट्टाएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका गौरीगङ्गा नगरपालिका–६ का २५ वर्षीय खेमराज कठायतको साथबाट उक्त मुन्द्रा प्रहरीले हात पारेको हो। लागुऔषध दुर्व्यसनी रहेका कठायतले रकमको अभावमा बालकको हत्या गरी कानमा लगाएको करिब एक आनाको सुनको मुन्द्रा लुटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। अभियुक्तले हत्यापछि मुन्द्रा निकालेर आफ्नो पेन्टको खल्तीमा लुकाएको बयान दिएका थिए। सोही बयानका आधारमा मङ्गलवार उनको घरबाटै उक्त मुन्द्रा निकालेर प्रहरीले आफ्नो नियन्त्रणमा लिएको कैलाली प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।

मृतक तनुज गत असार १० गतेदेखि घरबाट बेपत्ता भएका थिए। खोजी गर्ने क्रममा दुई दिनपछि घर नजिकैको वनमा उनको शव फेला परेको थियो। घटनाको अनुसन्धानमा खटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब निरीक्षक सुशील चन्दको कमाण्डको टोलीले घटनाको १० दिनपछि अभियुक्त कठायतलाई पक्राउ गर्न सफल भएको हो। उनी भारततर्फ भाग्न खोज्दै गर्दा धनगढी–२ भन्सार रोड क्षेत्रबाट नियन्त्रणमा आएका हुन्। घटनाका सम्बन्धमा प्रहरीले थप कानुनी अनुसन्धान अघि बढाएको जनाएको छ।

ताजा समाचार