कञ्चनपुर । कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेन पक्की पुल र तटीय क्षेत्रको सुरक्षाका लागि गाइडबण्ड निर्माणलाई तीव्रता दिइएको छ। वर्षायामको सम्भावित बाढीलाई मध्यनजर गर्दै नेपाली सेनाले यो ड्याम पुनर्निर्माण तीव्र पारेको हो। यसैबीच, सैनिक मुख्यालयको उच्चस्तरीय टोलीले भीमदत्त नगरपालिका–१२ स्थित आयोजना स्थलको भौतिक प्रगतिको निरीक्षण गरेको छ। युद्धकार्य निर्देशक मनोज थापा नेतृत्वको टोलीले वर्षा नजिकिएकाले बाँकी काम छिटो सक्न निर्देशन दिएको छ। गत वर्षको बाढीले ड्याम बगाएपछि सरकारले सो क्षेत्रलाई संकटग्रस्त घोषणा गर्दै पुनर्निर्माणको जिम्मा सेनालाई सुम्पेको थियो। हाल ४०० भन्दा बढी सैनिकहरू निर्माणमा खटिएका छन् र अहिलेसम्म ८० प्रतिशतभन्दा बढी काम पूरा भइसकेको छ। प्राविधिक विवादका कारण ठेकेदार कम्पनी बाहिरिएपछि अहिले सेनाको जनशक्ति र सडक डिभिजनको व्यवस्थापनमा काम भइरहेको हो।यो ड्याम निर्माणसँगै पक्की पुल जोगिने मात्र नभई तटीय क्षेत्रका बस्तीहरू समेत बाढीको जोखिमबाट सुरक्षित हुनेछन्।



