काठमाडौं । साविक विजेता अर्जेन्टिना संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। क्यान्सस सिटी स्टेडियममा आइतबार बिहान सम्पन्न रोमाञ्चक क्वाटरफाइनल खेलमा स्विट्जरल्यान्डलाई ३–१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
अर्जेन्टिनाका लागि खेलको १०औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। तर, ६७औँ मिनेटमा स्विट्जरल्यान्डका डान एन्डोयले गोल गरेपछि खेल १–१ को बराबरीमा पुगेको थियो। ७२औँ मिनेटमा ब्रेल एम्बोलो दोहोरो पहेँलो (रातो) कार्ड खाँदै मैदानबाट बाहिरिएपछि स्विट्जरल्यान्ड १० खेलाडीमा सीमित भएको थियो।
निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयको ११२औँ मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई पुनः अग्रता दिलाए। खेलको अन्तिम समय अर्थात् १२० मिनेट पछिको इन्जुरी समयमा लौटारो मार्टिनेजले अर्को उत्कृष्ट गोल गरेपछि अर्जेन्टिनाको जित सुनिश्चित भएको हो।
अब सेमिफाइनलमा अर्जेन्टिनाले इङ्ल्यान्डको सामना गर्नेछ। शनिबार राति भएको अर्को क्वाटरफाइनल खेलमा नर्वेलाई २–१ गोलले पाखा लगाउँदै इङ्ल्यान्डले यसअघि नै सेमिफाइनलको यात्रा तय गरिसकेको छ।



