काठमाडौं । इङ्ल्यान्ड फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार बिहान सम्पन्न निकै प्रतिस्पर्धात्मक क्वाटरफाइनल खेलमा नर्वेलाई २–१ गोल अन्तरले पराजित गर्दै इङ्ल्यान्डले अन्तिम चारको यात्रा तय गरेको हो। यस जितसँगै इङ्ल्यान्ड आठ वर्षपछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुग्न सफल भएको छ।
खेलको सुरुवाती अग्रता भने नर्वेले लिएको थियो। पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा पुगेर इतिहास रचेको नर्वेका लागि खेलको ३६औँ मिनेटमा एन्ड्रियास स्केल्डरअपले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए। तर, उत्कृष्ट पुनरागमन गरेको इङ्ल्यान्डका लागि जुड बेलिङघम नायक बने। उनले नर्वेविरुद्ध एक्लै दुई गोल गर्दै टोलीको जित सुनिश्चित गरे।
यस पराजयसँगै नर्वेको ऐतिहासिक विश्वकप यात्रा क्वाटरफाइनलमै टुङ्गिएको छ। अब फाइनल प्रवेशका लागि इङ्ल्यान्डले साविक विजेता अर्जेन्टिनाको सामना गर्नेछ। आइतबारै भएको अर्को खेलमा स्विट्जरल्यान्डलाई ३–१ ले पाखा लगाउँदै अर्जेन्टिनाले पनि सेमिफाइनलमा इङ्ल्यान्डसँगको भेट पक्का गरिसकेको छ।



