कञ्चनपुर । कञ्चनपुरको महाकाली नदीमा अलपत्र परेका तीनवटा हात्ती झन्डै २४ घण्टापछि सुरक्षित रूपमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज फर्किएका छन्। भीमदत्त नगरपालिका-१२ स्थित महाकालीको चार लेन पुल नजिकैको पोखरीमा आइतबार बिहानदेखि ती हात्ती देखा परेका थिए। रैथाने बथानबाट छुट्टिएर आएका हात्तीलाई फर्काउन नेपाली सेना, नेपाल प्रहरी र निकुञ्जको टोलीले दिनभर प्रयास गरेका थिए।
तर, स्थानीय ‘भाइरल रोड’ मा हात्ती हेर्ने सर्वसाधारणको अत्यधिक भीड लागेका कारण उद्धारमा समस्या भएको थियो। मानिसहरूको भीड हटेपछि सोमबार बिहानै ती हात्ती पिपरिया हुँदै निकुञ्ज तर्फ फर्किएका हुन्। हाल ती हात्तीलाई रैथाने बथानमा मिलाउने प्रयास भइरहेको निकुञ्ज प्रशासनले जनाएको छ।



