कंचनपुर । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले आफूले ट्र्याक्टर रोकेको घटनालाई लिएर सामाजिक सञ्जालमा फैलाइएका भिडियोप्रति गम्भीर आपत्ति जनाएका छन्। रावलले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै भिडियोको सानो अंश मात्र काटेर वास्तविकता लुकाउने प्रयास भएको बताए।
उनका अनुसार ठेकेदार कम्पनीले विगत तीन वर्षदेखि सडक अधुरै छाडेर स्थानीयवासीलाई सास्ती दिँदै आएको र निर्माण कार्य पूरा नगरी निर्माण सामग्री अन्यत्र लैजान खोजेपछि स्थानीयकै हितका लागि ट्र्याक्टर रोकिएको हो। पहिले सडक निर्माण सम्पन्न गर्न आग्रह गर्दै जनताको समस्या समाधानका लागि उठाइएको कदमलाई गलत रूपमा व्याख्या नगर्न उनले आग्रह गरे।
आफ्नो सोही दबाबका कारण घटनाको भोलिपल्टदेखि सडकमा पानी छर्किने तथा कालोपत्र गर्ने काम अघि बढेको रावलले दाबी गरे। उनले भाइरल हुनकै लागि भ्रम फैलाउने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै निष्कर्षमा पुग्नुअघि घटनाको सम्पूर्ण पृष्ठभूमि बुझ्न सबैलाई आग्रह गरे।



