कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा असार महिनाभर सञ्चालित ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षा अभियानका क्रममा ४ हजार ९१ वटा सवारी साधन कारबाहीमा परेका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले मंगलबार सार्वजनिक गरेको प्रगति विवरण अनुसार, नियम उल्लङ्घन गर्ने सवारी साधनबाट ३४ लाख ५१ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ।
कार्यालयका अनुसार मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ४७३ चालकलाई कारबाही गरी २ लाख ५५ हजार ५०० रुपैयाँ जरिवाना असुल गरिएको छ। यस्तै, लागुऔषध सेवन (लापसे) जाँचका क्रममा दोषी पाइएका ८ जना चालकलाई थप कानुनी कारबाहीका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा पठाइएको ट्राफिक प्रहरी उपरीक्षक नवराज कार्कीले बताए। अभियान अन्तर्गत क्षमताभन्दा बढी भार बोक्ने ११ वटा मालवाहक सवारीलाई ५१ हजार रुपैयाँ जरिवाना गरिएको छ।
सडक सुरक्षा र प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै हालसम्म प्रदेशभर २ सय सार्वजनिक सवारी साधनमा जीपीएस र सीसीटीभी जडान गरिएको छ। यसैगरी, १५१ सवारी साधनको यान्त्रिक परीक्षण, २८ वटा चोरीका मोटरसाइकल नियन्त्रण, ४२० सवारीमा पुनः नम्बर प्लेट जडान, २६ वटा ठूला हर्न र २८२ सवारीबाट कालो सिसा हटाइएको छ।
असार महिनाभर ५ सय ८७ वटा सचेतनामूलक कार्यक्रममार्फत २ लाख २६ हजारभन्दा बढी सर्वसाधारणलाई ट्राफिक नियमबारे जानकारी दिइएको छ। राजमार्गका विभिन्न स्थानमा सञ्चार हेडसेट वितरण, कन्भेक्स मिरर जडान, चिसापानी क्षेत्रमा एएनपीआर क्यामेरा परीक्षण र चालकहरूको निःशुल्क आँखा तथा स्वास्थ्य परीक्षण जस्ता कार्य पनि सम्पन्न भएका छन्। ट्राफिक प्रहरीले जरिवाना असुली मात्र नभई सडक सुरक्षा, चालक अनुशासन र प्रविधिमार्फत सुरक्षित यात्रा सुनिश्चित गर्न यो अभियान सञ्चालन गरेको जनाएको छ।



