कैलाली । कैलालीको गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त गरिएको छ। सिफारिस समितिको प्रतिवेदनका आधारमा योग्यताक्रममा पहिलो नम्बरमा रहेका प्रा. डा. सुनिलकुमार जोशीलाई उपकुलपति र डा. भीमबहादुर चन्दलाई रजिष्ट्रार नियुक्त गरिएको हो।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मेडिकल क्षेत्रका विज्ञहरूको मूल्याङ्कनका आधारमा निष्पक्ष र पारदर्शी प्रक्रियामार्फत पदाधिकारी चयन गरिएको जानकारी दिए। नवनियुक्त पदाधिकारीको नेतृत्वमा यही वर्षदेखि विश्वविद्यालयमा पठनपाठनसहितका शैक्षिक तथा प्रशासनिक कार्यहरू सुरु हुने विश्वास व्यक्त गरिएको छ।
नवनियुक्त उपकुलपति डा. जोशी र रजिष्ट्रार डा. चन्द दुवै स्वास्थ्य, चिकित्सा शिक्षा तथा प्रशासनिक क्षेत्रमा लामो अनुभव भएका विज्ञ हुन्। विश्वविद्यालय ऐनको कानुनी व्यवस्था अनुसार सिफारिस समितिले बुझाएको योग्यताक्रमको पहिलो स्थानमा रहेका उम्मेदवारहरूलाई नै यो जिम्मेवारी दिइएको हो।



