इङ्ल्यान्डलाई हराउँदै साविक विजेता अर्जेन्टिना विश्वकपको फाइनलमा

प्रकाशित मिति:

काठमाडौं । साविक विजेता अर्जेन्टिना फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा स्टेडियममा बिहीबार बिहान भएको रोमाञ्चक सेमिफाइनल खेलमा इङ्ल्यान्डलाई २–१ गोलले हराउँदै अर्जेन्टिना उपाधि नजिक पुगेको हो । सुरुवाती अग्रता गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै अर्जेन्टिनाले फाइनलको यात्रा तय गरेको हो ।

खेलको ५५औँ मिनेटमा एन्थोनी गोर्डनले पोस्ट नजिकबाट गोल गर्दै इङ्ल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए । एक गोलले पछि परेपछि थप आक्रामक बनेको अर्जेन्टिनाले खेलको अन्तिम समयतिर नतिजा आफ्नो पक्षमा पाऱ्यो । ८५औँ मिनेटमा कप्तान लियोनल मेस्सीको पासमा एन्जो फर्नान्डेजले डिबक्स बाहिरबाट सशक्त प्रहार गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा लौटारो मार्टिनेजले मेस्सीकै पासमा उत्कृष्ट हेड गोल गर्दै अर्जेन्टिनाको जित निश्चित गरे ।

दुवै गोलका लागि उत्कृष्ट पास मिलाएका कप्तान मेस्सी खेलको ‘प्लेयर अफ दि म्याच’ चुनिए । मेस्सी जारी विश्वकपमा आठ गोलसहित गोल्डेन बुटको दौडमा समेत शीर्ष स्थानमा छन् । लगातार दोस्रो पटक फाइनल पुगेको अर्जेन्टिनाले अब उपाधि रक्षाका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि भएको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २–० ले हराउँदै स्पेनले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

ताजा समाचार