कञ्चनपुर । कञ्चनपुरको भिमदत्त नगरपालिका–१० मा व्यवसायिक तथा सीप विकास तालिम केन्द्र, महेन्द्रनगर र वडा नं. १० को सहकार्यमा सञ्चालित ७३० कार्यघण्टाको ६ महिने कटाई–सिलाई तालिम सम्पन्न भएको छ। तालिम सफलतापूर्वक पूरा गरेका १८ जना महिलालाई प्रमाणपत्र तथा हाजिरीका आधारमा नगद प्रोत्साहन रकम वितरण गरिएको हो। समापन कार्यक्रम वडा अध्यक्ष महेश चन्दको अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत महेश बमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

प्रमुख अतिथि महेश बमले भिमदत्त–१० छ महिने कटाई–सिलाई तालिम सफलतापूर्वक सम्पन्न गर्ने पहिलो वडा बनेको उल्लेख गर्दै यस्ता सीपमूलक तालिमले महिलाको स्वरोजगार, आयआर्जन र उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए। वडा अध्यक्ष महेश चन्दले पनि तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतार्दै आत्मनिर्भर बन्न सहभागी महिलालाई आग्रह गरे।

प्रशिक्षक कुशुम भट्टका अनुसार तालिमको सुरुवातमा २५–३० जना महिलाको सहभागिता रहे पनि नियमित रूपमा ६ महिना तालिम पूरा गर्ने १८ जनालाई प्रमाणपत्र र प्रोत्साहन रकम प्रदान गरिएको हो। तालिमबाट सहभागीले व्यावसायिक कटाई–सिलाई सीप हासिल गरेका छन्, जसले स्वरोजगार र पारिवारिक आयआर्जनमा टेवा पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रमको सञ्चालन वडा सचिव गगन नाथले गरेका थिए।



