बैतडी । बैतडीको पुर्चौडी नगरपालिकास्थित राताशिलामा बिहीबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ। पुरघाटबाट ढोल्यामोडतर्फ जाँदै गरेको सु.प.प्र. ०२-००१ त १६०० नम्बरको ट्याक्टर दिउँसो साढे तीन बजेको समयमा सडकबाट करिब २०/२५ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा पुर्चौडी नगरपालिका–१ बुदडा घर भई हाल महेन्द्रनगर बस्दै आएका ४४ वर्षीय चालक देवसिंह भण्डारीको घटनास्थलमै मृत्यु भएको छ। ट्याक्टरमा अन्य कोही पनि सवार नरहेको र घटना लगत्तै प्रहरी चौकी पुरघाटबाट प्रहरी टोली खटिएर थप अनुसन्धान गरिरहेको बैतडी प्रहरीले जानकारी दिएको छ।



