इरान र अमेरिकाबीचको तनाव चुलियो, जोर्डनमा दुई अमेरिकी सैनिक मारिए

प्रकाशित मिति:

काठमाडौं । इरानले प्रहार गरेको ब्यालिस्टिक मिसाइल र ड्रोन आक्रमणमा जोर्डनमा दुई जना अमेरिकी सैनिकको मृत्यु भएको छ। घटनामा एक अमेरिकी सैनिक अझै बेपत्ता रहेको अमेरिकी सैन्य अधिकारीहरूले जानकारी दिएका छन्।

अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) का अनुसार आक्रमणमा घाइते भएका अन्य चार अमेरिकी सैनिकलाई जोर्डनकै स्थानीय अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ। सामान्य घाइते भएका अन्य सैनिकहरू भने पुनः आफ्नो नियमित काममा फर्किएका छन्। अमेरिकी सेनाले मृतक सैनिकहरूको पहिचान र घटनाको विस्तृत विवरण भने गोप्य राखेको छ।

यसैबीच, यो आक्रमणको जवाफमा अमेरिकाले शनिबार राति इरानमाथि पुनः हवाई हमला गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकी सेनाले लगातार आठौँ रात इरानका विभिन्न ठेगानामा बमबारी गरेको सेन्टकमले पुष्टि गरेको छ।

सेन्टकमले जारी गरेको विज्ञप्तिअनुसार होर्मुज जलघाँटीमा व्यावसायिक जहाजहरूमाथि खतरा सिर्जना गर्ने इरानी क्षमतालाई कमजोर बनाउन यो सैन्य कारबाही गरिएको हो। अमेरिकाले जोर्डनमा आफ्ना सैनिकमाथि भएको आक्रमणमा इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स’ (आईआरजीसी) को हात रहेको दाबी गरेको छ।

एक महिनाअघि भएको युद्धविराम भङ्ग भएसँगै अमेरिका र इरानबीचको तनाव उत्कर्षमा पुगेको छ। अमेरिकाले इरानी बन्दरगाहहरूमा पुनः नाकाबन्दी लागू गरेपछि इरानले पनि रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने होर्मुज जलघाँटी बन्द गरिदिएको छ। यसले गर्दा पश्चिम एसिया क्षेत्रमा सैन्य मुठभेडको खतरा झन् बढेर गएको छ।

ताजा समाचार