कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–८, तिलाचौरस्थित भम्केनीधाममा निर्माणाधीन ‘नेपाल आमाको मूर्ति’ बजेट अभावका कारण विगत एक वर्षदेखि प्रभावित भएको छ। निर्माण समितिले दिएको जानकारीअनुसार आर्थिक सङ्कटका कारण कामले गति लिन नसकेको हो।
विसं २०७५ मा भ्याली कन्स्ट्रक्सन प्रालिसँग करिब ११ करोड रुपियाँको लागतमा साढे तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो। नेपाल आमाको मूर्ति निर्माण समितिका संयोजक जनकराज जोशीका अनुसार ७५ फिट अग्लो यो मूर्तिको निर्माण समयमै सक्ने लक्ष्य राखिए पनि आवश्यक बजेट जुट्न नसक्दा ढिलाइ भएको हो।
महाकाली शारदापीठका जगत्गुरु बालसन्त मोहनशरण देवाचार्यले मेची–काली पदयात्रा गरी मूर्ति निर्माणका लागि सुन, चाँदी, पित्तल र तामालगायतका धातु तथा एक करोड ८५ लाख रुपियाँ सङ्कलन गरेका थिए। सोही रकमबाट मूर्ति निर्माणको काम सुरु गरिएको थियो। यसै गरी भीमदत्त नगरपालिकाबाट ५० लाख र विभिन्न दाताहरूबाट ५० लाख रुपियाँ सङ्कलन भएको निर्माण समितिले जनाएको छ।
कुल १० करोड ८१ लाख रुपियाँ लागत अनुमान गरिएको यस आयोजनामा हालसम्म करिब तीन करोड रुपियाँ बराबरको मात्र काम भएको छ। यद्यपि, सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमा मूर्ति निर्माणका लागि ६ करोड ८० लाख रुपियाँ विनियोजन गरेपछि अब निर्माणले पूर्णता पाउने अपेक्षा संयोजक जोशीले व्यक्त गरे।
मूर्ति निर्माणमा करिब २५ टन अष्टधातु प्रयोग हुने अनुमान छ। मुख्य मूर्तिकार मनोहर महर्जनका अनुसार हालसम्म पाँच टन धातु प्रयोग भइसकेको छ भने २८ क्विन्टल तामा, काँस र पित्तल गलाउने काम भइरहेको छ। हालसम्म मूर्तिको ५८ फिट साँचो निर्माण भइसकेको तर ढलानको काम बाँकी रहेको महर्जनले जानकारी दिए।
यो मूर्ति निर्माणले राष्ट्रिय एकताको सन्देश दिने र यस क्षेत्रको धार्मिक पर्यटन विकासमा ठुलो टेवा पुग्ने विश्वास लिइएको छ। सिद्धनाथ वैजनाथ धार्मिक तपस्थली क्षेत्र विकास समितिका महासचिव करन भट्टका अनुसार मूर्ति निर्माण सुरु भएयता भम्केनीधाममा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ र हाल दैनिक एक सयभन्दा बढी दर्शनार्थी यहाँ आउने गरेका छन्।



