कञ्चनपुर । कञ्चनपुर प्रहरीले भारतको पञ्जाब राज्यस्थित लुधियानाबाट चोरी गरिएका बहुमूल्य गरगहना बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार, असार २५ गते दोधाराचाँदनी नगरपालिकाका एक स्थानीयको घर नजिकै लुकाएर राखेको अवस्थामा ती सामान फेला पारिएका हुन्। बरामद सामानमा सुन, चाँदी र हिराका गरी ३७ प्रकारका गरगहना र ६ वटा महँगा घडी रहेका छन्।
लुधियानाको एक घरमा काम गर्ने दोधाराकै एक युवतीका दुई जना आफन्तले ती बहुमूल्य सामान चोरी गरेर नेपाल ल्याएका थिए। युवतीकै सूचना र भारतीय घरधनीको उजुरीका आधारमा प्रहरीले खानतलासी गर्दा यो सफलता मिलेको हो। चोरीमा संलग्नहरूको पहिचान भइसकेकाले उनीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।
बरामद गरिएका सम्पूर्ण सामानहरू सम्बन्धित भारतीय नागरिकलाई कञ्चनपुरमै बोलाएर हस्तान्तरण गरिने प्रहरीले जनाएको छ।
भारतको लुधियानाबाट चोरिएका बहुमूल्य गरगहना कञ्चनपुरमा बरामद
प्रकाशित मिति:



