डडेल्धुरा । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा मुलुकका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना देखिएपछि जिल्ला प्रशासन कार्यालय डडेल्धुराले उच्च सतर्कता अपनाउन सर्वसाधारणमा अनुरोध गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अत्यधिक वर्षा भई आकस्मिक बाढी, पहिरो, डुबान तथा कटानको जोखिम बढ्न सक्ने भएकाले विशेष सावधानी आवश्यक रहेको हो। विपद्को सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्राधिकरणले अत्यावश्यक कामबाहेक रातिको समयमा यात्रा नगर्न र पहिरो एवं नदी किनारका बस्तीमा रहेका नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ। यस्तै, सम्भावित घटनाको तत्काल प्रतिकार्यका लागि सुरक्षा निकाय, स्थानीय तह र स्वयंसेवकहरूलाई तयारी अवस्थामा राख्नुका साथै अवरुद्ध राजमार्ग खुलाउन आवश्यक उपकरण चुस्त राख्न निर्देशन दिइएको छ। मौसमको नियमित अपडेट लिन आग्रह गर्दै प्रशासनले आपत्कालीन सहायताका लागि विपद् सहायता नम्बर ११४५, नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरीको ११४९ मा सम्पर्क गर्न समेत सूचित गरेको छ।



