कञ्चनपुर । कञ्चनपुरमा च्याउ खोज्न जङ्गल गएका १४ जना महिला सम्पर्कविहीन भएका छन्। भीमदत्त नगरपालिका–१९, दशरथ टोलका ती महिलाहरू आइतबार बिहान ११ बजेतिर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र छिरेका थिए।
निकुञ्जको मालुमेला पोष्टबाट भित्र पसेका उनीहरू ९ र ५ जनाको दुईवटा समूह बनाएर च्याउ खोज्न हिँडेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सम्पर्कविहीन हुनेहरूमा सकनी चौधरी, सविता चौधरी, बिमला आग्री, सुमित्रा सुनार लगायत १४ जना छन्। हाल प्रहरी र स्थानीयको सहयोगमा निकुञ्जभित्र उनीहरूको व्यापक खोजी भइरहेको छ।



