प्रदेश सरकार पुनर्गठनका लागि केन्द्रको निर्देशन पर्खिँदै नेताहरू

प्रकाशित मिति:

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा बजेट विवाद चर्किएपछि नेपाली काङ्ग्रेस नेतृत्वको सरकार सङ्कटमा परेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले सत्ता साझेदार नेकपा (एमाले) का मन्त्रीहरूलाई हटाएपछि एमालेले आफ्नो समर्थन फिर्ता लिएको हो।

एमाले बाहिरिएसँगै मुख्यमन्त्री शाह अल्पमतमा पर्नुभएको छ भने नयाँ सरकार निर्माणको रस्साकस्सी सुरु भएको छ। ५१ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २६ सिट आवश्यक पर्नेमा २१ सिट बोकेको नेकपा निर्णायक बनेको छ। नेकपाले आफ्ना संसदीय दलका नेता खगराज भट्टको संयोजकत्वमा वार्ता टोली बनाएर काङ्ग्रेस र एमाले दुवै पक्षसँग संवाद चलाइरहेको छ।

यद्यपि, समग्र राजनीतिक समीकरणको साँचो शीर्ष नेतृत्वसँगै रहेकाले प्रदेश तहका नेताहरू काठमाडौँको निर्णयको प्रतीक्षामा छन्। उता राजनीतिक अस्थिरताका कारण प्रदेश सभाबाट बजेट पारित हुन नसक्दा वित्तीय अन्यौलता छाएको छ। केन्द्रमा दलहरूबीच सहमति कायम भएपछि मात्रै प्रदेशमा नयाँ मन्त्रिपरिषद् गठनको बाटो खुल्नेछ।

ताजा समाचार