काठमाडौं । प्रधानमन्त्री बालेन शाहले शेयर बजारको समग्र सुधार र दीर्घकालीन विकासका लागि सरोकारवाला निकायहरूसँग छलफल गरेका छन्। सोमबार आयोजित बैठकमा धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय तथा बीमा क्षेत्रका प्रतिनिधिहरूसँग पुँजीबजारका समसामयिक समस्याबारे परामर्श भएको हो।
छलफलमा प्रधानमन्त्री शाहले संस्थागत लगानीकर्ताको सहभागिता बढाउने, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुनर्संरचना गर्ने, प्राथमिक निष्कासन प्रणाली सुधार्ने र कर प्रणालीलाई न्यायसङ्गत बनाउन सरकार प्रतिबद्ध रहेको बताए। उनले नेप्सेलाई आधुनिक र प्रतिस्पर्धी बनाउन रणनीतिक साझेदार भित्र्याएर निजीकरणतर्फ लैजानुपर्नेमा जोड दिए।
यस्तै, धितोपत्र बोर्डलाई बुक बिल्डिङ प्रणाली प्रभावकारी बनाउन र इन्ट्रा-डे कारोबार तथा सर्ट सेल व्यवस्थापन लागू गर्न निर्देशन दिइएको छ। त्यसैगरी, राष्ट्र बैंकमार्फत ब्रोकर कर्जा सहज बनाउने र अर्थ मन्त्रालयमार्फत खुद नाफामा मात्र पुँजीगत लाभकर लिने कानुनी सुधारका लागि पहल गरिने जनाइएको छ।



