काठमाडौं । सरकारले हाल दिइँदै आएका सार्वजनिक बिदाहरूको पुनरवलोकन गर्ने गृहकार्य सुरु गरेको छ। हप्तामा दुई दिन (शनिबार र आइतबार) बिदा दिन थालेपछि समग्रमा सार्वजनिक बिदाको सङ्ख्या धेरै भएको निष्कर्ष निकाल्दै सरकारले बिदा परिमार्जनको तयारी गरेको हो।
बिदा घटाउने वा परिमार्जन गर्ने सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेस गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा एक उच्चस्तरीय कार्यदल गठन गरिएको छ। कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन र अर्थ मन्त्रालयका प्रतिनिधिहरू सदस्य छन्। कार्यदललाई १५ दिनभित्र प्रतिवेदन बुझाउने समय दिइएको छ।
सातामा दुई दिन बिदा दिँदा अन्य पर्व र दिवसका बिदाले सरकारी कार्यालयहरू धेरै दिन बन्द हुने र नागरिक सेवा प्रभावित हुने भएकाले कार्यदलको सिफारिसका आधारमा आगामी वर्षको क्यालेन्डरबाट केही बिदा कटौती गरिने जनाइएको छ।



