बाजुरा । बाजुराको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी कच्ची सडकखण्डमा सोमबार दिउँसो जिप दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन्। धुलाचौरबाट दुधिला खोलातर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ज १८७८ नम्बरको जिप मोडबाट करिब १० मिटर तल खसेर दुर्घटनामा परेको हो।
दुर्घटनाको खबर पाउनासाथ अस्थायी प्रहरी पोस्ट कुवाडी र इलाका प्रहरी कार्यालय बुढीनन्दाबाट प्रहरी टोली उद्धारका लागि घटनास्थल पुगेको थियो। दुर्घटनामा २५ वर्षीय जिप चालक जनवीर बुढासहित ९ जना घाइते भएका छन्।
घाइतेमध्ये चालक जनवीर बुढा, धर्मलाल बुढा, मिजरा बुढा र अम्मर सिंह बुढाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। अन्य ५ जना घाइतेहरूको अवस्था सामान्य छ। प्रहरीले सबै घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल पठाउने व्यवस्था मिलाएको छ। दुर्घटनाको कारणबारे प्रहरीले छानबिन अघि बढाएको छ।



