सरकारी अनुगमनमा अवरोध गर्ने होटल सञ्चालक पक्राउ, २० हजार जरिवाना

प्रकाशित मिति:

बर्दिबास सरकारी अनुगमन टोलीलाई कार्यसम्पादनमा अवरोध पुर्‍याएको आरोपमा महोत्तरीको बर्दिबासस्थित नाभ्या होटलका सञ्चालक सुधीरकुमार अग्रवाल पक्राउ परेका छन्।

मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, स्थानीय प्रशासन र सुरक्षा निकायको संयुक्त टोली शुक्रबार बिहान बर्दिबासस्थित उक्त होटलमा अनुगमनका लागि पुगेको थियो।

अनुगमनका क्रममा सञ्चालक अग्रवालले सरकारी टोलीलाई भित्र प्रवेश गर्न नदिई ताल्चा लगाइदिने धम्की दिएका थिए। साथै मन्त्री महतोसहितका प्रतिनिधिप्रति अमर्यादित व्यवहार गरेपछि उनलाई इलाका प्रहरी कार्यालय बर्दिबासले नियन्त्रणमा लिएको छ।

यसैबिच, टोलीले होटलको भान्सा निरीक्षण गर्दा खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्डविपरीत अखाद्य एवं सडेगलेका सामग्री फेला पारेको छ। खाद्य ऐन उल्लंघन गरेको ठहर गर्दै अनुगमन टोलीले होटललाई २० हजार रुपैयाँ जरिवानासमेत गराएको छ।

पूर्व-पश्चिम राजमार्ग क्षेत्रका होटल तथा रेस्टुरेन्टको खानाको गुणस्तरलाई लिएर जनगुनासो बढेपछि मधेश प्रदेश सरकारले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखी बजार अनुगमनलाई तीव्रता दिएको छ।

ताजा समाचार