धनगढी । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले डाक्टर गोविन्द केसीलाई आफ्नो सत्याग्रह तत्काल फिर्ता लिन आग्रह गरेको छ। अनशन फिर्ता नलिए सरकार र केसीविरुद्ध नै प्रतिअनशन बस्ने चेतावनी समितिले दिएको छ।
समितिका संयोजक लोकराज पाण्डेले शुक्रबार भिडियो सन्देश जारी गर्दै यो विश्वविद्यालय सुदूरपश्चिमवासीको लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धि भएको बताएका छन्। यसको सञ्चालन प्रक्रियालाई कमजोर बनाउने वा अवरुद्ध पार्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने उनको भनाइ छ।
चिकित्सा शिक्षा सुधारका माग राख्दै केसीले धनगढी पुगेर २४औँ सत्याग्रह सुरु गरेका छन्। उनले गेटामा विश्वविद्यालय स्थापना गर्ने प्रक्रिया पारदर्शी र विधिसम्मत नभएको आरोप लगाउँदै आएका छन्। यता, संघर्ष समितिले भने विश्वविद्यालय सुदूरपश्चिमका जनताको अधिकार र भावनासँग जोडिएकाले सञ्चालन प्रक्रियामा बाधा नपुर्याउन केसीलाई आग्रह गरेको छ।




