कञ्चनपुर । कञ्चनपुर प्रहरीले समाजमा बढ्दो लागुऔषध नियन्त्रण र अदालतको फैसला कार्यान्वयनमा सक्रियता बढाएको छ। लागुऔषध ओसारपसार तथा कारोबारमा संलग्न व्यक्ति र सजाय तोकिएर फरार रहेका अभियुक्तहरूलाई पक्राउ गर्न प्रहरीले कडाइ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/०८३ मा लागुऔषधसम्बन्धी मुद्दामा २० महिला र ३८९ पुरुष गरी कुल ४०९ जनालाई पक्राउ गरिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार बितेको एक वर्षमा लागुऔषधसम्बन्धी २३१ वटा मुद्दा दर्ता भएका छन्। प्रहरीले दिनहुँजसो लागुऔषधसहित मानिसहरूलाई पक्राउ गरिरहेको र कारबाहीका साथै सचेतनामूलक कार्यक्रमसमेत चलाइरहेको उनले बताए। कञ्चनपुर र कैलालीमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या बढ्दो क्रममा रहेको र कारागारमा रहेका कैदीमध्ये ३५ प्रतिशतभन्दा बढी लागुऔषध मुद्दाकै रहेको प्रहरीको भनाइ छ।
कञ्चनपुर प्रहरीले गत आर्थिक वर्षमा ६५८ ग्राम खैरो हेरोइन, साढे ६ किलोग्राम चरेश, ५२६ ग्राम गाँजा र ७२६ वटा ट्याब्लेट बरामद गरेको थियो।
यस्तै, सोही अवधिमा फैसला कार्यान्वयनतर्फ प्रहरीले ५६२ जना फरार अभियुक्तलाई पक्राउ गरी कारागार चलान गरेको छ। फरार अभियुक्तहरूबाट जरिवानाबापत दुई करोड ४५ लाख रुपियाँ असुलउपर गराइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।




