एक वर्षमा २० खर्बको आयात, निर्यात भने तीन खर्बमा सीमित

प्रकाशित मिति:

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालको वैदेशिक व्यापारमा आयात र निर्यातबिचको खाडल अझ फराकिलो बनेको छ। भन्सार विभागले सार्वजनिक गरेको वार्षिक तथ्याङ्कअनुसार गत एक वर्षको अवधिमा २० खर्ब रुपियाँभन्दा बढीको वस्तु आयात हुँदा निर्यात भने तीन खर्ब रुपियाँमा मात्रै सीमित भएको हो।

विभागका अनुसार गत साउनदेखि असार मसान्तसम्म कुल २० खर्ब ९६ अर्ब ३७ करोड रुपियाँ बराबरको विदेशी वस्तु आयात भएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १६.२० प्रतिशतको वृद्धि हो।

उता सोही अवधिमा नेपालबाट भने ३ खर्ब १५ अर्ब २९ करोड रुपियाँ बराबरका वस्तु तथा सेवा मात्र बाहिरिएका छन्। अघिल्लो वर्षको तुलनामा निर्यात १३.८१ प्रतिशतले बढे पनि आयातको तुलनामा यो निकै न्यून हो।

आयातको तुलनामा निर्यात निकै कमजोर रहँदा समीक्षा वर्षमा नेपालले १७ खर्ब ८१ अर्ब ८ करोड रुपियाँ बराबरको ठूलो व्यापार घाटा व्यहोर्नुपरेको छ। गत आर्थिक वर्षभरिमा नेपालको कुल वैदेशिक व्यापार भने २४ खर्ब ११ अर्ब ६६ करोड रुपियाँ पुगेको भन्सार विभागले जनाएको छ।

ताजा समाचार