काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सवारी नियम पालना गराउँदा कारबाही वा जरिवानाको स्थिति नआओस् भन्ने चाहना रहेको बताएका छन्।
मेट्रो ट्राफिक एफएमको १४ औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै प्रहरी प्रमुख कार्कीले सडक पूर्वाधार, जनचेतना र पाठ्यक्रम सुधार जस्ता कार्यमा स्थानीय तह र नागरिक नै अग्रसर हुनुपर्नेमा जोड दिए।
सडक सुरक्षा र व्यवस्थापन केवल ट्राफिक प्रहरीको एक्लो जिम्मेवारी नभएको उल्लेख गर्दै उनले सडकको दायाँ–बायाँ ‘रोड फर्निचर’, सूचना बोर्ड र जेब्रा क्रसिङ लगायतका पूर्वाधार बनाउने बजेट वा अधिकार ट्राफिक प्रहरीसँग नहुने स्पष्ट पारे।
कसैलाई सजाय वा जरिवाना गर्नु ट्राफिक प्रहरीको उद्देश्य नभए पनि सडक सुरक्षाका लागि कडा कदम चाल्नै पर्ने बाध्यता रहेको उनको भनाइ थियो। आगामी दिनमा मेट्रो ट्राफिक एफएमबाट सडक सुरक्षा र जनचेतनामूलक गुणस्तरीय कार्यक्रम प्रसारण गर्न उनले निर्देशन समेत दिएका छन्।
कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले सडक दुर्घटना न्यूनीकरण र नागरिकको जीउधन रक्षाका लागि एफएमले नियमित ‘ट्राफिक अपडेट’ दिँदै आएको जानकारी दिए।




