काठमाडौं । विपक्षी दलको मागपछि प्रतिनिधि सभामा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने भएको छ। फागुन २१ को निर्वाचनपछि नियमावलीको व्यवस्था अनुसार सांसदहरूले प्रश्न दर्ता गरेर प्रश्नोत्तर हुन लागेको यो पहिलो पटक हो। यसअघि जेठ १७ गते प्रधानमन्त्री वालेन्द्र शाहले आकस्मिक रूपमा प्रश्नोत्तरमा भाग लिएका थिए।
सोमबार सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ५६ अनुसार प्रधानमन्त्री शाहलाई जवाफ दिन निर्देशन दिँदै मिति तोकेका हुन्। नियमावली अनुसार संसदमा रहेका दलबाट कम्तीमा एक र बाँकी दलीय प्रतिनिधित्वका आधारमा प्रश्न सोध्न पाइनेछ। यसका लागि भदौ ५ गते दिउँसो १ बजेसम्म लिखित प्रश्न दर्ता गर्नुपर्नेछ। अढाई महिनादेखि विरोध गर्दै आएका विपक्षी दलहरू यो निर्णयपछि पछि हटेका छन्।
नियम अनुसार महिनाको पहिलो हप्ताको एक दिन पहिलो एक घण्टा प्रश्नोत्तरका लागि समय तोकिन्छ, जसमा बढीमा १५ सांसदले भाग लिन पाउँछन्। अदालतमा विचाराधीन, कानुनले निषेध गरेका वा गैरसरकारी व्यक्तिका वक्तव्यबारे प्रश्न गर्न पाइने छैन।




