काठमाडौं । बैंकको कर्मचारी भन्दै केवाईसी (KYC) अपडेट गर्ने बहानामा सर्वसाधारण र सेवानिवृत्त कर्मचारीलाई ठगी गर्ने गिरोहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्यूरोले जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा उनीहरूलाई साउन ३१ गते चितवनबाट नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा बारा देवताल गाउँपालिका–४ का २२ वर्षीय अभय तिवारी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रामग्राम–१६ का २२ वर्षीय जय कुमार केवट, सोही ठाउँका २२ वर्षीय विद्या सागर केवट र पर्सा वीरगञ्ज–३ का २७ वर्षीय कुवेर थापा रहेका छन्।
उनीहरूले फोन तथा ह्वाट्सएप (WhatsApp) कलमार्फत स्क्रिन सेयर गराएर वा ओटीपी (OTP) कोड मागेर बैंक खातामा पहुँच पुर्याई रकम अन्यत्र ट्रान्सफर गरेर ठगी गर्दै आएका थिए। पक्राउ परेकाहरूलाई काठमाडौँ जिल्ला अदालतबाट विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत अनधिकृत पहुँच र ठगी कसुर मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक तथा प्रवक्ता दिलीप कुमार गिरीले जानकारी दिए।




