कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ स्थित लालीगुराँस सामुदायिक वनमा गए राति बन्दुक पड्किँदा स्थानीय ४२ वर्षीय पदम विश्वकर्माको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार जङ्गलभित्र बन्दुक पड्किएर विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो। घटनाको अनुसन्धानका लागि उनीसँगै जङ्गल गएका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।
बन्दुक कसले र किन चलाएको हो तथा गोली पदम विश्वकर्माकै साथमा रहेको बन्दुकबाट चलेको हो वा अन्य कसैको—भन्ने विषयमा एकीन नभएकाले घटनास्थलको अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक विष्टले बताए।




